शिवधारा

शिवधारा, मकालु गाउँपालिका

पूर्वी नेपालको ओझेलमा परेको धार्मिक पर्यटकीय गन्तव्य हो, शिवधारा । संखुवासभाको मकालु गाउँपालिकास्थित शिवधारा समुन्द्री सतहबाट चार हजार ६ सय मिटरको उचाइमा पर्छ । वरुण नदीको शिर शिवधारालाई तीर्थस्थलका रूपमा लिइन्छ । धार्मिक आस्थासँगै प्राकृतिक रूपमा पनि सुन्दर गन्तव्य हो, शिवधारा ।

शिवधारा गुफा:शिवधारामा गुफा पनि छ । यो २५ मिटर उचाइ र २० मिटर लम्बाइ तथा चौडाइ रहेको छ । पहराबीचबाट निरन्तर पानीको धारा झरिरहन्छ । त्यो धारालाई शिवजीको जटाबाट पानी झरेको भन्ने धार्मिक विश्वास छ । यो धारा हल्लिरहन्छ । नुहाउँदा धर्मात्मा मानिसको टाउकामा मात्रै पर्छ भन्ने जनविश्वास पनि छ ।शिवधाराको अर्कोपट्टि पार्वती गुफा छ ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट हिँडेको चार दिनपछि मात्रै शिवधारा पुगिन्छ । पहिलो दिन खाँदबारीबाट ३८ किलोमिटर टाढाको मकालु गाउँपालिकास्थित नुमसम्म पुगिन्छ । यहाँसम्म यातायातको सुविधा छ । त्यसपछि पैदल हिँड्नुपर्छ । त्यहाँबाट हिँडेपछि सेदुवा बास बस्न पुगिन्छ । दोस्रो दिन सेदुवाबाट बिहानै उठेर हिँड्दा खाना खान टाँसीगाउँ र बेलुकीको बास खुङ्मामा हुन्छ । तेस्रो दिन खुङ्माबाट उठेर बिहानको खाना खान ठूलोडाँडा र बेलुकीको बास दोबाटेमा हुन्छ । दोबाटेदेखि याङ्लेखर्क र त्यहाँबाट तीन घन्टामा हिँडेपछि चौथो दिन मात्रै शिवधारा आउँछ ।

Location Map