मकालु निकटवर्ती क्षेत्रमा वरुण नदीको शीरमा शिवधारा रहेको छ। ढुन्ने ओडारभित्रको लगभग पचास मिटर जति उचाइमा रहेको ढुङ्गेछानाबाट पानीको धारो झरेको छ जसलाई शिवधारा भनिन्छ । पुराणमा वर्णित राजा भागीरथले स्वर्गबाट पृथ्वीमा गंगावतरण गराउने क्रममा पृथ्वीमा झर्न त गंगा राजी भइन् तर उनको वेग म थाम्न सक्छु भने कसैले साहस गर्न सकेन । शिवजीले गंगाको बेग थाम्ने जिम्मेवारी लिए। गंगालाई आफ्नो बलमा घमण्ड थियो। शिवजीले आफ्नो बेग थाम्न सक्दैनन्, बरु म नै उनलाई दवाएर पातालमा खसाइदिन्छु भन्ने सोच राखेकी थिइन्। गंगा झर्नासाथ शिवजीले आफ्नो जटामा गंगालाई लटपट्याएर बन्दी जस्तै बनाइदिए। धेरै वर्षसम्म शिवजीको २२ जटामा अल्झिएपछि उनको घमण्ड चूर भयो र शिवजीसँग माफी मागेपछि बल्ल छुटकारा पाइन्। गंगा शिवजीको जटामा अल्झिएकै बेला जटाबाट कसोकसो गर्दा ससाना चारवटा धारा भने चुहुन पुगे तिनको नाम शिवधारा, आकाशगंगा, गोमुखगंगा र भागीरथीगंगा हो। शिवधारा संसुवासभामा भैहाल्यो, बाँकी तीनवटा चाहिँ भारतमा छन् ।
शिवधाराको उत्पत्ति सम्बन्धमा अर्को पनि मिथक छ। बरुणलाई छोराको साहै रहर थियो तर भटाभटी सातवटी छोरी जन्मिइसक्दा पनि छोरो जन्मिएन । त्यसैले छोरो माग्न भनेर श्रीमतीसँग विदावारी भई उनी हिमालय पर्वतकामा गए। यता उनी हिंडेपछि घरमा ब्रह्मपुत्र नाम गरेको छोरो जन्मियो, बरुणलाई यो कुरा थाहै भएन उनी विरक्तिदै यताउता भौतारिइरहे, घरमा फर्किएर आएनन्। धेरै वर्ष वितेपछि बरुणकी श्रीमतीले आफ्ना सातवटी छोरीलाई बाबुको खोजीमा पठाइन् । बाबु खोज्न जाँदै थिए, बाटोमा सातजना शिकारीहरुले देखे। राम्रा केटीहरु देखेर लोभिएका शिकारीहरुले राम्रा लुगा, चुरा, धागो, गरगहना दिने लोभ देखाउँदै आफूसँग हिंड्न प्रस्ताव राखेकोमा छ वटी सहमत भई छ वटा शिकारीका पछि लागे तर कान्छी संसारी माइ अलिक ज्याद्री थिइन् उनले जान मानिनन् । तव शिकारीले म तिमीलाई एक रुपियाँ पैसा पनि दिन्छु नि भनेर फकायो। अब भने उनी पनि फकिएर उसँग हिंडिन् । त्यसैकारण देवीको पूजा गर्दा अरु देवीलाई चुरा, धागो, ध्वजापताका चढाइन्छ तर सन्सारी माईलाई चाहिँ एक रुपैयाँ नै चढाइन्छ । उता बरुण पनि धेरै वर्ष पछि घर सम्झिएर झल्यास्स भएछन् र हतार हतार घर फर्किनका लागि पत्थर छेडेर प्वाल पारी त्यसैबाट हाम्फालेछन्। उनी हाम्फाल्दा बनेको धारो नै शिवधारो हो ।