सङ्खुवासभामा नुनढाकी भन्ने स्थान छ, यहाँ तातोपानी महादेव, सिंहदेवी भगवती, पाँच कन्या, सात कन्या, इन्द्र, भीम आदि देवदेवीका मन्दिर रहेका छन् । प्रशस्त देवदेवीहरू भएकाले नै यसलाई चौरासी धाम पनि भनिन्छ। यसको नाम नूनढाकी कसरी रह्यो भने बारेमा एउटा मिथक छ। पाँच पाण्डव मध्येका माहिला भीमसेन अत्यन्तै बलवान थिए । बलको काममा उनलाई कसैले जित्न सक्दैनथ्यो । एक दिन उनी मेन्छेमचुलीको मोहक दृश्यबाट साहै प्रभावित भएछन् र त्यो ठाउँमा एउटा मन्दिर बनाउन पाए हुन्थ्यो भन्ने विचार आएछ ।
सुत्नेबेलामा यस्तो विचार गर्दै निधाएका भीमसेनले सपना पनि त्यस्तै देखेछन् जस अनुसार उनले पिलुवा खोलाको बगरका अजङ्गका ढुङ्गा बोकेर मेन्छेमचुलीमा लगी रातभरमै अर्थात् भाले बास्नु अगावै मन्दिर बनाइसक्नु पर्ने भयो । त्यति जाबो काम उनका लागि बायाँ हातको खेल बराबर थियो। उनले मन्दिर बनाउन आवश्यक पर्ने जति ढुङ्गा पिलुवा खोलाबाट उठाएर भारी हाले र त्यो बोकेर मेन्छेमचुलीतिर लागे । माथि पुगेपछि उनलाई लाग्यो – यति जागे काम गर्न कति बेर पो लाग्छ र ? एक छिन यहाँ थकाई मार्छु अनि त्यसपछि बाँकी काम सिद्ध्याउँछु । उनी ढुङ्गाको भारी बिसाएर एउटा चउरमा पल्टिएका थिए भुसुक्कै निधाए र भाले बासेर कुखुरी काँ गरेको सुनेपछि मात्रै झल्याँस्स व्युझिए।
हत्तेरिका, कस्तो निधाइएछ, बवीद भैगो नि। भाले बासी हाल्यो अब मन्दिर नबन्ने भो भन्दै ढुङ्गाको भारी त्यहाँ छाडेर खिन्न मनले उनी आफ्नो बाटो लागे। स्थानीय लिम्बू समुदायले त्यो ढुङ्गाको भारीलाई लिम्बू भाषामा लुङ्ख्याकी अर्थात् ढुङ्गाको थुप्रो भन्न थाले । कालान्तरमा लुड्थाकीबाट अपभ्रंश भई नुन ढाकी हुन पुग्याे ।