संखुवासभाको जलजला हिमालको नागीडाँडा फेदीमा अवस्थित स्यावुन, जौबारीको नागेश्वरीमा नागेश्वर महादेव गुफा रहेको छ। मिथक अनुसार एकजना गोठालाको गाई हरायो, जति खोज्दा पनि फेला परेन। हराएको ६ महिना पछि एकदिन नमेश्वरी गुफामा आफैले दूध चढाउँदै गरेको अवस्थामा गाई भेटियो। त्यसपछि त्यहाँ सधैं गाईको दूध चढाएर नित्य पूजा गर्ने शर्तमा गोठालाले आफ्नो गाई घरमा ल्यायो। नित्य पूजा हुन थालेपछि महादेवथान कायम भयो ।
यसै सम्बन्धी अर्को मिथक अनुसार एक हुल शिकारीहरु शिकारको खोजीमा यो ठाउँमा आइपुगे। शिकार खोज्दै गदी एक हुल बँदेल भेटियो तर ती सबै भागे। शिकारीहरु बँदेललाई लखेट्दै गए तर कतै फेला पार्न सकेनन् । थकित भएपछि उनीहरु त्यही ओडारमा बास बसे जहाँ हाल नागेश्वर महादेव छन् । सपनामा महादेवले भने – तिमीहरुले खोजेका बँदेल भेट्न सक्दैनौ किनभने मैले नै एकछिनका लागि बँदेल भएर तिमीहरुलाई यहाँ ल्याएको हो। यो मेरो गुफा हो, म यहीं बस्छु, अव तिमीहरुले मेरो नित्य पूजा गर्नु, तिमीहरुको कल्याण हुनेछ। त्यपछि त्यहाँ महादेवस्थान बनाई नित्य पूजा गर्न थालियो ।
सो गुफाभित्र पत्थरबाट प्राकृतिक रुपमा निर्मित गाईका थुनहरु छन् र त्यहाँबाट उहिले उहिले लगातार दूधका धारा भरिहन्थे अरे । तर एकजना लोभीले त्यसमा मुख लगाएर दूध पिइदिएपछि दूध आउन बन्द भएको अरे । आजकल भने चौलानी जस्तो पानी मात्रै झर्ने गर्दछ ।