संखुवासभाको धर्मदेवी नगरपालिका अन्तरगत हुम्मुङ्ग भन्ने गाउँ छ। त्यसमा धर्मदेवी स्थान छ। स्थानीयहरु धर्मदेवीलाई हुम्मुनकी देवी पनि भन्दछन् । नातामा धनकुटाकी छिन्ताडदेवी फुपु र हुम्मुङ्गकी धर्मदेवी भदै हुन् भन्ने मान्यता छ। यस सम्बन्धी मिथक यस्तो छः
शुरुमा हुम्मुङ्गमा पानीका स्रोतहरु थिएनन् र मानिसहरुलाई खानेपानी बोक्न पनि कोसौं टाढा जानुपर्दथ्यो । त्यसबाहेक त्यहाँका स्थानीय व्यक्तिहरुले पालेका बाख्रा, सुँगुर, कुखुरा आदिलाई पनि चितुवा, बाघ, श्याल आदिले रातमा घरैमा आई उठाएर लगी ज्यादै हैरान गरेको थियो। यो समस्याबाट कसरी छुटकारा पाउने होला भनेर सोचमग्न भएका एकजना स्थानीय जिमीलाई सपनामा एकजना युवतीले भनिन् म धर्मदेवी हुँ र छिन्ताङदेवीकी भदै हुँ। तिमीले तुरुन्तै छिन्ताङमा गएर त्यहाँ मेरी फुपूका मन्दिरमा धारोको पानी बगेका ठाउँको एक मुठी हिलो माटो एउटा कर्कलाका पातमा पोको पारेर ल्याएर हुम्मुनका बाँसघारी मुन्तिर राखिदिनु, त्यहाँ पानी उम्रिएर कहिल्यै नसुक्ने धारो बन्नेछ। म पनि त्यही बाँसघारीमा बस्नेछु । त्यसपछि तिम्म्रो गाउँमा अरु ठाउँमा पनि पानी उम्म्रने छ, जंगली जन्तुले बाख्रापाठा उठाएर पनि लैजाने छैन। मेरो पुजारी तिमीले नै हुनु, तिम्रा सेखपछि तिम्रा सन्तानले पुजारी हुन्। तर खबरदार, मेरो मन्दिरमा बलिदिएका कुनै पनि प्रसादलाई हुम्मुङ क्षेत्रबाट चारैतिर पर्ने कुनै पनि खोलो कटाएर बाहिर लैजान पाइने छैन । जसले यो नियम उल्लंघन गरेर बाहिर लैजान्छ उसलाई भारी विपत्ति आइपर्ने छ।
भोलिपल्टै जिमी छिन्ताङतिर हिंडे। सपनामा भने जस्तै छिन्ताङको हिलो कर्कलाको पातमा पोको पारी ल्याएर हुम्मुङको बाँसघारी मुन्तिर राखियो । हेर्दाहेर्दै त्यो हिलोमाटो जमीनमा रसाएर भिज्दै गयो र केहीबेरमै पानीको मूल फुटेर भलभली बग्न थाल्यो । हुम्मुङ्गमा अन्यत्र पनि ठाउँठाउँमा पानी उम्रन थाल्यो। जङ्गली जनावरले बाख्रापाठा लगेर हैरानी गर्ने क्रम पनि बन्द भयो। जसले कुनै कुराको चाहना गरेर धर्मदेवीको भाकल गर्छ उसलाई त्यो कुरो प्राप्त हुन थाल्यो। पहिले पहिले त कसैका बालबच्चाको बोली नआएर लाटालाटी भए भने धर्मदेवीको धारामुनि लगेर थापिदिएपछि धाराको पानी जीउमा पनीसाथ लाटाले आच्छिउ भन्दै चिच्याउँथ्यो अरे र त्यसपछि बोल्न थाली हाल्थ्यो अरे। देबीको आदेश अनुसार आज पनि धर्मदेवीमा बली दिएका हाँस कुखुरा बोकाको मासु पूर्व दिशामा ठुटेखोलो, आग्नेय दिशामा मुलुवाखोलो, उत्तर दिशामा पिलुवाखोलो, नैऋत्य दिशामा कंवौखोलो, पश्चिम दिशामा लाहाचुङखोलो र अरुण कटाएर नलाने चलन छ ।